
-ध्रुव भट्टराई/ईमेज
विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभाको बजेट अधिवेशन बुधबार सकिएको छ ।
करिब चार महिना अवधिभर संचालन भएको चौँथो अधिवेशन कानुन निर्माणका दृष्टिले भने उल्लेखनीय रहन सफल भयो ।
१४ वटा विधेयक पारित गर्दै १ नम्बर प्रदेश सभाको बर्षे अर्थात बजेट अधिवेशन बुधबारबाट अन्त्य भएको छ ।
यस अवधिभर महत्वपूर्ण १४ वटा विधेयक पारित भएसँगै प्रदेश १ ले अहिलेसम्म कूल ४३ वटा विधेयक पािरत गरिसकेको छ ।
जसमध्ये प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, गाउँसभा तथा नगरसभा सञ्चालनलगायतका महत्वपूर्ण विधेयक रहेका छन् ।
कानुन निर्माणका दृष्टिले चौँथो अधिवेशनलाई पनि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट पारित विधेयक र तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने धारणा राखे ।
अधिकांश विधेयक सहमतिको पारित गरे पनि मनोमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक बहुमतको बलमा पारित गरेपछि सत्ता र प्रतिपक्ष सांसदबीचमा केही कटुता उत्पन्न भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले प्रतिबद्धता जनाएनअनुरुप सहकार्य गर्ने लक्षण नदेखाएको आरोप लगाए ।
प्रदेश सरकार गठन भएको २ वर्ष पुग्न लागिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको र प्रदेशको नामाकरणको विषय पनि थाती राखिएको भन्दै आलोचना भइरहेको छ ।
प्रदेश १ को प्रदेशसभाले चौँथो अधिवेशनसम्म आइपुग्दा निर्माण गरिएका ४३ वटा कानूनमध्ये ३९ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई कानुनको रुप लिइसकेका छन् । प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्