
पाल्पा, पाँचथर, असोज ८ । चाडपर्व नजिकिँदै गर्दा पाल्पाको तानसेनमा स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
बजारका खाद्य तथा किराना पसलहरुमा स्थानीय प्रशासनको अगुवाइमा खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा अनुगमन गरेका हुन् ।
चाडपर्वका बेला बजारमा मूल्यलाई एकरुपता राख्न अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
अनुगमनकाक्रममा बजारका अधिकांश पसलहरुमा पेय तथा खाद्य सामग्रीहरु म्याद नाघेका भेटिएका थिए ।
बिक्रीका लागि राखिएका सामग्रीको मूल्यसूची नराखिएको र पसल तथा व्यवसाय विनादर्ता सन्चालनमा रहेको भेटिएका थिए ।
म्याद नाघेका सामग्री प्रहरीले जफत गरेको छ भने व्यापारीलाई एकपटक चेतावनी दिएर छाडिएको छ ।
मूल्यसूचीविना बिक्री
पाँचथरको फिदिमका अधिकांश पसलहरुमा मूल्यसूचीविना सामानहरु बिक्री भइरहेको पाइएको छ ।
फिदिमस्थित मुख्य बजारका किराना, फलफूल, इलेक्ट्रोनिक्स, मदिराजन्य पदार्थ बिक्री गर्ने पसल तथा लखनमार्गमा रहेको मासु पसल र बुद्धमार्गका केही होटलहरुमा अनुगमन गरिएको थियो ।
पसलमा म्याद नाघेका सामग्री भेटिएका छन् भने अधिकांश पसलले मूल्यसूची नराखेको पाइएको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत माधव बास्कोटाले जानकारी दिए ।
कतिपय पसलले बिक्री बिलसमेत नराखेको पाइएको उनको भनाइ छ ।
मापदन्डविपरीत रहेका सबै व्यवसायीलाई निश्चित समय दिएर मापदन्डमा आउन निर्देशन दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्