२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रतिपक्षको विरोधबीच प्रदेश–१ मा मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित


0
Shares

विराटनगर, असोज ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बाबजुद १ नम्बर प्रदेशसभाबाट मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको छ ।

कांग्रेसका सांसदहरुको नाराबाजी र होहल्लाकैबीच विधेयक बहुमतले पारित भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्न सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई समय दिएका थिए ।

कांग्रेसका संसदहरुले घेराउ गरेको ‘रोस्ट्रम’ छल्दै मन्त्री घिमिरेले विधेयक बैठकमा पेस गरेका थिए । लगत्तै सभामुख भण्डारीले विधेयक पारितका लागि प्रक्रियामा लगेका थिए । त्यसलगत्तै विधेयक प्रदेशसभाको बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत छ ।

कांग्रेसको विरोधका बाबजुद् सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेस भएको थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको ‘बोर्ड अफ गभर्नस’ नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सन्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो ।

बहुमतको बलमा सरकारले प्रतिपक्षलाई बेवास्ता गरेको कांग्रेसको आरोप छ ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा मोरङको हात्तीमुडामा मनमोहन पोलिटेक्निक सन्चालनमा छ । प्रतिष्ठानका अध्यक्ष उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल हुन् ।