Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


औद्योगिक ऐनले दिएको सुविधा आर्थिक ऐनले काट्दैनः अर्थमन्त्री


0
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक व्यवसाय ऐनले दिएको सुविधा आर्थिक ऐनले नखोस्ने बताएका छन् ।

औद्योगिक व्यवसाय ऐनले दिएको सुविधा आर्थिक ऐनले रोक्ने गर्दै आएको गुनासो निजी क्षेत्रको छ ।

उद्योग वाणिज्य संघ काठमाडौंको स्थापना एवं प्रथम वार्षिक साधारण सभामा मन्त्री खतिवडाले अब एक ऐनले दिएको सुविधा अर्को ऐनले नकाट्ने प्रतिबद्धता जनाए ।

उनले ऐन आएपछि वर्षौसम्म नियमावली नआउने व्यवस्था पनि अन्त्य हुने बताए । अर्थमन्त्री खतिवडाले विदेशी पूँजी र प्रविधि भित्र्याउनुपर्नेमा पनि जोड दिए ।

ऋणलाई लगानी मान्न नसकिने भन्दै उहाँले पूँजी र प्रविधि नै भित्र्याउनुपर्ने बताए ।

उनले छिमेकी मुलुकले करका दरमा गरेको परिमार्जन र हामीले गर्नुपर्ने करका विषयमा राजश्व बोर्डमार्फत छलफल गर्ने पनि उल्लेख गरे ।

हालै भारतले कर्पाेरेट ट्याक्स झार्ने घोषणा गरेको छ । सेवा व्यापारमा जोड दिनुपर्ने भन्दै उनले निजी क्षेत्रलाई ‘बाइपास’ गरेर सरकार अगाडी नबढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्यमी व्यवसायीलाई उत्साहित बनाउनुपर्ने बताइन् ।

उनले भारतले कर्पोरेट ट्याक्स घटाएको उल्लेख गर्दै नेपालमा पनि घटाई प्रतिस्पर्धी बनाउन आग्रह गरिन् ।

उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकेजिङ सामाग्री आपूर्तीमा तयारी भन्दा दुई तह भन्सार दर कम लाग्ने व्यवस्था गर्न माग गरे ।

संघले निजी क्षेत्रसँग सम्बन्धी कानून बनाउँदा निजी क्षेत्रसंग छलफल गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।