
प्रदीप पौडेल (इमेज)
पोखरा, असोज ३ । गन्डकी प्रदेशमा संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
प्रदेश सरकारको आयोजनामा शुक्रबार प्रदेश राजधानी पोखरामा मूल समारोह कार्यक्रम गरियो ।
पोखराको सहिदचोकदेखि सुरु भएको र्यालीले पोखराबजार परिक्रमा गरी पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नेपाल प्रहरी र विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रहरी र विद्यार्थीको सहभागिताले समारोह आकर्षक देखिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेशप्रमुख बाबुराम कुँवरले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठूलो विशेषता भएको बताए ।
यसलाई देश र जनताको सम्पत्तिकारुपमा व्याख्या गर्दै उनले यसलाई रक्षा गर्नुपर्ने बताए ।
गन्डकी प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यशक्तिको स्रोत नेपाली जनतामा आउनुलाई संविधानको सबैभन्दा ठूलो उपलब्धिकारुपमा व्याख्या गरे ।
कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारी र उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले संधिान कार्यान्वयनमा सबैको सहयोग आवश्यक भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्