Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ


0
Shares

कास्की, भदौ ३१ । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर–२ का वडासदस्य गणेश आचार्य र तरुण दलका ‘विपुल’ भनिने टीकाराम पौडेल छन् ।

पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले उनीहरुलाई मंगलबार बिहान पोखरा महानगरपालिका–५, जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहरुसहित अन्य ४५ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताए ।

कानुनी प्रक्रियाअनुसार गाउँपालिकाकोबारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै कांग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठककक्षका केही फर्निचर तोडफोड गरेका थिए । रासस