२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौंमा चिनियाँ नागरिकको अर्ग्यानिक खेती : नेपालीहरुलाई प्रेरणा (हेरौं भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी र भरत केसी(ईमेज)

काठमाडौं । मान्छेले अलिकति धैर्य राखेर मेहनत गर्ने हो भने यहींको माटोमा सुन फल्ने उदाहरण दिएका छन्, एक जना चिनियाँ नागरिकले ।

राजधानीको प्रमुख प्रशाकीय क्षेत्र नजिकै रहेको सानो खाली जमिनको उपयोग गर्दै चिनियाँ नागरिकले अग्र्यानिक खेती गरेर राम्रै आम्दानी गर्न सफल समेत भएका छन् ।

राजधानीको सीमसार क्षेत्र मानिने यस स्थानमा बिभिन्न सरकारी कार्यालयहरु बनेपछी बिस्तारै सीमसार क्षेत्र नाश हुँदै गयो ।

कृषी बिकास बैंक, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय बीमा संस्थान लगाएत बिभिन्न सरकारी कार्यालयहरु बनेका छन् ।

यद्यपी, बाँकी रहेको केही क्षेत्रफलमा भने चिनियाँ नागरिकले भाडामा खेती गर्दै आएका छन् ।

राजधानीको भद्रकालीमा खाद्य संस्थानको स्वामित्वमा रहेको ३२ रोपनी क्षेत्रफलमा फैलिएको जो जग्गा सन् २००८ दे्खि चिनियाँ नागरिक हुआङ फितोङले भाडामा लिई अर्गानिक खेती गर्दै आएका छन ।

सन् २००४ मा नेपाल आएका उनले यो जग्गा भाडामा लिए बापत बार्षिक ३६ लाख रुपैयाँ खाद्यसंस्थानलाई बुझाउँदै आएका छन् ।

जसअनुसार गत चैतमा खाद्यसंस्थानसंग पाँच बर्षका लागि सम्झौता समेत गरिसकेका छन ।

यसबीचमा नेपाल सरकारले ३२ रोपनी जग्गा मध्ये १६ रोपनी नेपाल प्रहरीलाई महानगरिय प्रहरी परिसर भवन निर्माणका लागि उपलब्ध गराएको छ ।

जहाँ गत भदौ २४ गते प्रहरी महानिरीक्षक सब्रेन्द्र खनालले भवन निर्माणको शिलान्यास समेत गरिसक्नु भएको छ ।

खाद्य संस्थानले पाँच वर्षका लागि भाडामा लगाईसकेको जग्गाको सम्झौता तोडेकोमा हुआङ भने दुःखी बनेका छन् ।

चिनियाँ दुतावासले समेत नेपाल सरकारसंग पहल गर्दा समेत सुनुवाई नभएको र आफूले क्षतिपूर्ति समेत नपाएको उनले बताएका छन् ।

आफूले बाटो समेत नभएको र पानी जमिरहने जग्गा भाडामा लिएर ४० हजार ट्रीपर माटो राखेर पुरेको उनको भनाइ छ । तर त्यसतर्फ ध्यानै नदिई सम्झौता तोडिएको उनको गुनासो छ ।

तैपनि अहिले पनि १७ रोपनी जग्गा बाँकी रहेको र त्यसैमा मौसमी तरकारी खेतीलाई निरन्तरता दिन पाएकोमा हुआङ खुशी छन् ।

यहाँ रोपेका मौसमी तरकारी आम उपभोक्ताले जुनसुकै बेलामा पनि खरिद गर्न सक्छन् । बजार भाउ भन्दा केही हदसम्म महंगो भएपनि यहाँका उत्पादनहरु अर्गनिक छन् ।

टुकुचाबाट आएको पानी मलका लागि प्रयोग गर्दै आएकोले पानी र मलको समेत ब्यबस्थापन हुने गरेको उनको भनाइ छ । तरकारी मात्र नभई बिभिन्न जातका माछा पालन यहाँ उत्पादन भईरहेको छ ।

हुआङले आठ जना नेपालीलाई रोजगारी समेत दिएका छन् ।

यहाँ उत्पादन भएका तरकारी र माछा बिशेष गरी चिनियाँ दूतावास र नेपाली सर्वसाधारणलाई बिक्री गर्ने गरेको र आफैले सञ्चालन गर्दै आएको रेष्टुराँमा समेत प्रयोग गर्ने गरेको पनि उनले बताएका छन ।

अहिले देशभर जमिन बाँझै रहने समस्या बढिरहेको बेला यसरी खेती गर्न सक्ने हो भने जमिनको सदुपयोग हुने मात्रै होइन सिंगो देशलाई नै अग्र्यानिक उत्पादन पुर्याउन सकिने संभावना पनि यी चिनियाँले प्रस्तुत गरेका छन् ।