
बारा । बाराको निजगढमा पछिल्लो समय केरा खेतीमा आकर्षण बढ्दै गएको छ ।
बजार पाउन पनि समस्या नहुने र झन्झट पनि नहुने भएपछि नगरपालिकाको करिब ९० प्रतिशत भूभागमा केरा खेती गरिएको हो ।
उखु खेतीका लागि प्रसिद्ध रहेको बाराको निजगढ नगरपालिकामा पछिल्ला केही वर्ष यता केराखेतीको लहड चलेको छ ।
पाँच दशकअघिदेखि उखु खेती गर्दै आएका कृषकहरु मूल्यमा विवाद बढ्दै गएपछि केराखेतीतर्फ लागेका हुन् ।
यहाँ उत्पादित केरा जिल्ला बाहिर जनकपुर हेटाँैडा काठमाडौँलगायतका शहरमा पनि निर्यात् हुने गरेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव अन्य खेतीका लागि जनशक्ति र सिँचाइ अभाव भएकाले विगत ८/१० वर्षदेखि कृषकहरु केरा खेतीमा लागेको बताउँछन् ।
भन्सारको तथ्यांकअनुसार पनि केराको आयात विगतको तुलनामा कम हुँदै गइरहेको छ ।
चिनी मिलहरुले उखुको मूल्य भुक्तानीमा वर्षदिनसम्म आनाकानी गर्ने गरे पनि केरा भने बोटबाटै बिक्री हुने गरेको छ ।
नौं कठ्ठामा केरा खेती गरेकी रेश्मा लामा चैतदेखि असोजसम्म प्रतिहप्ता ३० देखि ४० हजार रुपैयाँको दरले घरबाटै केरा बिक्री गरेको बताउँछिन् ।
व्यापारी किसानकै खेतबारीमा पुगेर खरिद गर्ने भएकाले विचौलियाबाट ठगिनुपरेको छैन । केराखेतीबाटै नगरपालिकाभित्रका अधिकांश परिवारको जीवनस्तर माथि उठेको छ ।
स्थानीय र संघीय सरकारले विमा सुविधा उपलब्ध गराएकाले पनि केराखेती गर्नेहरु बढेका छन् ।
निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल यहाँको उत्पादन जिल्ला बाहिर पनि जाने गरेकाले खुसी व्यक्त गर्छन ।
मालभोग केराको पकेट क्षेत्र मानिएको यस निजगढलाई सरकारले केरा जोनको रुपमा बिकास गरी कृषि अनुदानमा सहजीकरण गर्नुपर्ने कृषकहरुको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्