
काठमाडौं, भदौ २७ । तारकेश्वर नगरपालिका, गोलढुंगामा प्रहरीको शुक्रबार साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुंगास्थित फूलबारी रेस्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए ।
घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ ।
धादिङ घर भएका गुरुङ लामो समयदेखि गुन्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ ।
उनको साथबाट एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्