Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


फर्निचर मेला काठमाडौंमा सुरु, वार्षिक ८ अर्बको आयात


0
Shares

काठमाडौं, भदौ २५ । काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण सुरु भएको छ ।

आधुनिक प्रविधिका फर्निचरबारे जानकारी दिने एवं व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फर्निचर तथा फर्निसिङ महासंघले हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ ।

नेपाल कृषिप्रधान मुलुक भएपनि फर्निचरमा भने अझै आत्मनिर्भर हुनसकेको छैन ।

नेपालमा विभिन्न मुलुकहरुबाट फर्निचर तथा फर्निसिङ सामग्रीको आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा भारत, चीन, ब्राजिल, थाइल्यान्डलगायतका विभिन्न मुलुकहरुबाट फर्निचरजन्य सामग्रीहरु आयात हुने गरेको छ ।

नेपालको ४० प्रतिशत भूभाग वन–जंगलले ढाकेको भएपनि फर्निचरहरु विभिन्न देशबाट आयात हुने गरेको छ ।

नेपालमा रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रकारुपमा यस क्षेत्रलाई प्रवर्द्धन गर्न सकिने भएपनि सरकारको पर्याप्त लगानी अभाव तथा उचित नीति–नियम बन्न नसक्दा यस क्षेत्र पछि परेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको भनाइ छ ।

सरकारले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने फर्निचर व्यवसायी महासंघका अध्यक्ष रुपेश प्रधानको भनाइ छ ।

नेपालमा वार्षिक ८ अर्ब रुपैयाँ बढीको फर्निचर तथा फर्निसिङको सामान आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७८ करोडको फर्निचर तथा फर्निसिङको सामग्री आयात भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा पाँच अर्ब ४७ करोडको फर्निचर आयात भएको विभागको तथ्यांक छ ।

Skip This