
महोत्तरी, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर–२ का ६ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ ।
महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित ६ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।
अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिएपनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ ।
असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभाभवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको छ ।
प्रहरीले अध्यक्ष साहलाई सुरक्षितरुपमा बाहिर निकालेका छन् । प्रदेशका सचिव सुमनराज प्याकुर्याल भने सभाभवनभित्रै बसेका छन् ।
बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकुर्यालले अराजक भीड बताएका छन् ।
पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदन्ड नबनाइ केही नेताले आफूखुसी बनाएको जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएको छ ।
मापदन्ड निर्धारण गरेरमात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आफूखुसी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी, भटौलियाका बासिन्दा विजय कर्णले बताए ।
असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदन्ड तय गर्नुपर्ने माग गरेको छ ।
मापदन्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।
यता, प्रदेश सचिव प्याकुर्यालले एकीकरणकोक्रममा जिल्ला कमिटी समायोजन गरिँदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पस्ट पारे ।
तर, सभाभवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गाली–गलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उनको भनाइ छ ।
अब पार्टीको उपल्लो निकायको निर्देशनमा के गर्ने निर्णय गरिने सचिव प्याकुर्यालले बताए ।
‘दुवै अध्यक्ष र महासचिवसँग परामर्श गरिनेछ’–प्याकुर्यालले भने–‘जे निर्देशन हुन्छ, त्यही गरिन्छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्