
काठमाडौं । निरन्तर जसो वियरिष ट्रेन्डमा रहँदै आएको शेयर बजारमा मंगलबार भने दोहोरो अंकको सुधार आयो ।
सिडिएससिले लागत मूल्यका लागि सफ्टवेयर तयार गरेसंगै पूँजीगत लाभकर विवाद अन्त्य हुने विश्वासका साथ लगानीकर्ता उत्साहित हुँदा बजार एकाएक सुधारिएको विश्लेषण गरिएको छ ।
सिडिएससिले मेरो शेयर सफ्टवेयरलाई केही नयाँ सुविधाहरु थप गरी नयाँ डिजाइनमा तयार गरेको छ । यसमा धितोपत्रको लागत प्रविष्ट गरी सो को भारित औसत गणना गर्ने व्यवस्था गरी मंगलबार देखि परीक्षणका रुपमा शुरु गरेको छ ।
परीक्षणका क्रममा देखिएका समस्यालाई तत्काल समाधान गरी नयाँ सेवा सहितको मेरो शेयर यथाशीघ्र सञ्चालनमा ल्याउने पनि सिडिएससिएलले प्रतिवद्धता जनाएको छ ।
यस दिन उतारचढाव बिच बजार परिसुचक नेप्से २० अंकले उक्लिएर ११ सय ९० पुग्यो । नेप्से घटेर ११ सय ५६ मा आइसकेकोमा अपरान्ह पछि सुधारिएको हो । यसदिन कारोबार भएका अधिकाशं समुह उकालो लागे ।
वाणिज्य बैंक समूहमा समेत दोहोरो अंकको सुधार आउँदा नेप्सेमा उल्लेख्य सुधार आएको हो । यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ४५ अंकले अनि निर्जिवन बिमा समुहमा पनि १ सय ४३ अंकले बृद्धि आयो ।
उत्पादनमूलक समूह ४३ अंकले बढ्यो । लघुवित्त समूह पनि ३३ अंकले उकालो लाग्यो । यसदिन वाणिज्य बैंक संगै होटल, विकास बैंक, जलविद्युत, समुह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन अन्य र सामुहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७१ कम्पनीको २१ लाख ८४ हजार कित्ता शेयर ५१ करोड ५५ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्