४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


बायो ग्याँस प्लान्ट निर्माण गर्ने ललितपुर महानगरको कार्य विवादमा


0
Shares

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको मंगलबजार चोकमा आधुनिक शौचालय निर्माणसंगै बायो ग्याँस प्लान्ट निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य विवादमा परेको छ ।

पूरातत्व विभागको स्वीकृति बिनै निर्माण अगाडी बढाइएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

ललितपुर महानरपालिकाले वडा नं १२ ले मंगलबजार चोकसंगै रहेको हखा टोलमा आधुनिक शौचालय निर्माण गरेर संगै बायो ग्यास प्लान्ट निर्माण गर्ने काम शुरु गरिसकेको छ ।

नगर भ्रमण गर्नेहरुको सुविधालाई ध्यानमा राखेर आधुनिक शौचालय निर्माण र वायो ग्यास प्लान्ट मार्फत घर घरमा वायो ग्यास वितरण गर्ने उद्धेश्यका साथ संरचन निर्माणका काम गरिएको वडा कार्यालयले जनाएको छ ।

तर विश्व सम्पदा सूचीमा सूचीकृत स्थलमा यसरी संरचना निर्माण गर्दा पनि वडा कार्यालयले भने कुनै निकायबाट अनुमति लिएको देखिंदैन ।

१२ नंम्बर वडाका अध्यक्ष नारायण लाल अवालेले भने स्थानीय हखा टोल सुधार समिति र पुरात्व विभागबाट स्वीकृति लिएरै आधुनिक गन्धरहित शौचालय निर्माणसंगै त्यसैबाट बायो ग्याँस प्लान्ट निर्माण गर्न लागेको दाबी गर्छन ।

उता पुरातत्व विभागका महाप्रबन्धक दामोदर गौतमले ललितपुरको हखा टोलमा कुनै किसिमको संरचना निर्माणको स्वीकृति नदिएको स्पष्ट पारे । उनले विभागका कर्मचारीबाट निरीक्षण भएपछि संरचना निर्माणबारे आवश्यक कारवाही प्रकृया अगाडि बढाउने बताए ।

स्थानीयले पनि वडाले स्थानीयसंग समन्वय नगरी जबरजस्ती संरचना निर्माण गर्न लागेको भन्दै तत्काल निर्माण नरोके कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

स्मारक संरक्षण ऐन २०१३ को दफा १२ को (ग) अनुसार पुरातात्विक वस्तुलाई नष्ट गरेमा ५ हजारदेखि १ लाख रुपैया जरिवाना र ५ वर्ष कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।