Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ– मन्त्री अर्याल


0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मंगलबार नेपाल चेम्बर अफ कमर्शको आयोजनामा भएको ‘नेपालमा व्यावसायिक कृषि विकासका सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा उहाँले सरकारले कृषिको व्यावसायीकरण, औद्योगिकरण, र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको बताउनुभयो ।

मन्त्री अर्यालले कृषिको व्यावसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफू भूमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिनुभयो । उहाँले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखी उत्पादन गरेर मात्रै नहुने भन्दै व्यावसायिक उत्पादनका निम्ति भौगोलिक अवस्था अनुसार कहाँ के उत्पादन हुन्छ भनी पत्ता लगाउन सक्ने सफ्टवेयर विकास गरी फागुनको पहिलो साता उद्घाटनको तयारी रहेको समेत जानकारी दिनुभयो ।