५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


महेन्द्रनगरबाट एक महिनामा १२ हजारभन्दा बढीले लिए प्यान


0
Shares

कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरबाट एक महिनामा १२ हजारभन्दा बढीले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।

सरकारले आर्थिक कारोबारका लागि प्यान अनिवार्य गरेपछि एक महिनामा १२ हजार ७ सय ३ सेवाग्राहीले प्यान नम्बर लिएका हुन् ।

कार्यालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी ११ हजार ६ सय ६३ व्यक्तिगत प्यान र ९ सय ५३ व्यावसायिक प्यान वितरण भएको छ ।

यस्तै अन्तशुल्कमा १ सय ६५ र भ्याटमा १ सय ३ प्यान वितरण भएको छ ।

यसअघि १२ हजार ९ सय ७४ जनाले व्यक्तिगत प्यान लिएका थिए । राजस्व कार्यालयमा एक महिनाको अवधीमा १२ हजार बढीले प्यान नम्बर लिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका सूचना अधिकारी मनिष मानन्धरले जानकारी दिए

उनले व्यक्तिगत प्यान लिनका लागि अहिले पनि दैनिक २ सय बढी सेवाग्राही आउने गरेको बताए ।

व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रिम करकट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था छ ।

कुनै संस्थाले कर्मचारीलाई प्यानबिना तलब दिएमा त्यो तलब खर्चमा गणना नगरिने ऐनमा उल्लेख छ ।