Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रक्रिया पुर्‍याएका बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन बैंकर्स संघको आग्रह


0
Shares

काठमाडौं, भदौ ११ । नेपाल बैंकर्स संघले सबै प्रक्रिया पुर्‍याएरपनि बैंकहरुलाई ‘ब्रोकर लाइसेन्स’ दिने प्रक्रिया रोकिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

संघको बुधबार बसेको बैठकले यस्तो ध्यानाकर्षण भएको जनाएको हो ।

बैंकहरुलाई ब्रोकर लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपछि बैंकहरुले सबै प्रक्रिया अवलम्बन गरी सेवा दिन आन्तरिक तयारीसमेत सबै पूरा गरेको अवस्थामा अकस्मात् नेपाल स्टक एक्सचेन्जले लाइसेन्स दिने प्रक्रिया स्थगन गरेकोप्रति ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

संघले प्रक्रिया पुर्‍याएर निवेदन दिएका बैंकहरुलाई तुरुन्तै ब्रोकर लाइसेन्स दिन अनुरोधसमेत गरेको छ ।

यस्तै, संघले नेपाल राष्ट्र बैंकबाट हालै जारी गरिएको परिपत्रमार्फत् औसत ब्याजदर अन्तरगणना गर्ने विधिलगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले बैंकिङ क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावबारे केन्द्रीय बैंकलाई लिखितरुपमा पुनः जानकारी गराउने र उक्त निर्देशन संशोधनका लागि आग्रह गर्ने पनि जनाएको छ ।

संघले बैंकिङ क्षेत्रकाबारेमा केही मिडियाहरुले समग्र बैंकिङ क्षेत्रकै नकारात्मक छवि फैलाउने, बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोकल्पित समाचार प्रकाशन गरेकोमा ध्यानाकर्षण भएको जनाउँदै प्रेस काउन्सिल नेपालसँग समन्वय गर्ने निर्णय गरेको पनि जनाएको छ ।

Skip This