६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


ल्याइयो ‘मास प्रिन्टर’, अब ‘लाइसेन्सका लागि धेरै समय कुर्नुपर्दैन’ (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र उत्तम मानन्धर (इमेज)

काठमाडौं, भदौ १० । नयाँ लाइसेन्स लिन र पूराना नवीकरणका लागि राजस्व तिरेर लामो समय प्रतीक्षा गरेपनि सर्वसाधारणले समयमै लाइसेन्स नपाएको गुनासो बढ्दै गएपछि यातायात व्यवस्था विभागले धेरै कार्ड छाप्ने क्षमताका ‘मास प्रिन्टर’ ल्याएको छ ।

प्राविधिक तयारीपछि केही दिनमै नयाँ प्रिन्टरबाट काड छपाइ गरेपछि सेवाग्राहीले लाइसेन्सका लागि धेरै समय कुर्नु नपर्ने विभागको दाबी छ ।

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडान गरिसकेको जनाएको छ । विभागले ‘मेसिन अपरेट’का लागि तालिमसमेत दिइरहेको जनाएको छ ।

गत सातामात्रै आइपुगेको प्रिन्टरले अबको दुई हप्तामा नै छपाइको काम थाल्ने विभागका निर्देशक गोगनबहादुर हमालले बताए ।

प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरुकोभन्दा कैयौं गुणा बढी रहेको विभागको दाबी छ ।

विभागमा हाल १० ओटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यी प्रिन्टरको क्षमता प्रतिघन्टा ४० ओटासम्ममात्रै रहेको छ ।

‘मास प्रिन्टर’ले एक घन्टाको अवधिमा चार हजार ५०० देखि ६ हजारसम्म कार्ड छाप्नसक्ने यातायात विभागको भनाइ छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा भइरहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरिद गरेको हो । गत वर्ष नै ‘ग्लोबल टेन्डर’मार्फत् प्रिन्टर खरिद प्रक्रिया अघि बढाइएको थियो ।

हाल विभागले झन्डै साढे ९ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ ।

उपकरण नियमित सन्चालन भएपछि अहिले छाप्न बाँकी कार्ड चाँडै छापेर सकिनेछ । उपकरणले छोटो समयमा धेरै कार्ड छाप्दा सो समस्याको समाधान हुने विभागको भनाइ छ ।

चालक अनुमतिपत्रका लागि आवेदन दिएका र सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो छ ।

देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।

विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेसिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो ।

भिडियो हेर्नुहोस्