ताप्लेजुङ, भदौ ६ । चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरीको एलाभेन एरोज फुटबल क्लबले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता झापाको रेडस्टार फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै एलाभेन एरोज च्याम्पियन बनेको हो ।
उपाधिसँगै एलाभेन एरोजले नगद तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार जित्यो । उपविजेता बनेको रेडस्टारले एक लाख ५१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।
निर्धारित् ९० मिनेटको समयमा २–२ गोलको बराबरी भएपछि ‘पेनाल्टी सुटआउट’बाट एलाभेन एरोज विजेता बनेको हो ।
उत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलाभेन एरोजका प्रवेश दनुवार घोषित भए ।
उत्कृष्ट डिफेन्डरमा एलाभेन एरोजकै विष्णु सुनुवार, उत्कृष्ट मिडफिल्डर रेडस्टारका योगेश गुरुङ, उत्कृष्ट फरवाड रेडस्टारका मिलन राई, उत्कृष्ट प्रशिक्षक एलाभेन एरोजका विश्वबन्धु पोखरेल बने ।
प्रतियोगिताको उदयमान खेलाडी ताप्लेजुङ–११ का मनिराज लिम्बू घोषित भए । सर्वाधिक गोलकर्ता एलाभेन एरोजका यानिक ओना बने ।
सर्वोत्कृष्ट र विधागततर्फ उत्कृष्ट खेलाडीहरु तथा प्रशिक्षकलाई मेडल प्रदान गरिएको थियो ।
विजयी टोली तथा खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्