७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो


0
Shares

काठमाडौं, भदौ १ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ ।

शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७० हजार ७०० रुपैयाँ कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । 

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महिनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महिनामा मात्रै सुनको मूल्य प्रतितोला रु ६ हजारसम्मले बढेको थियो । 

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ । (रासस)