
काठमाडौं, साउन २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको अध्यागमन छिट्टै ‘स्मार्ट’ बन्ने बताएका छन् ।
स्मार्ट अध्यागमनमा अरु अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा मन्त्री भट्टराईसँग गरेको कार्यक्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार भइरहेको र थप सुधार गर्दै लगिने बताए ।
उनले यही वर्षको डिसेम्बरसम्म भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा ल्याउने गरी काम भइरहेको पनि बताए ।
समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारका तर्फबाट कुनैपनि कमी हुन नदिएको उनको भनाइ थियो ।
मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल सन्चालनका लागि इच्छा देखाएको जर्मनीको म्युनिख अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको तर उसले सन्चालन नगरे नागरिक उड्डयन प्राधिकरणले नै सन्चालन गर्ने बताए ।
हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महँगो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै मन्त्री भट्टराईले यसको समाधानका लागि छलफल सुरु गर्ने पनि बताए ।
युरोपियन युनियनले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनुपर्ने कुनै कारण नरहेको भन्दै उनले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको बताए ।
हालै ‘आइकाओ’ले गरेको ‘सेफ्टी अडिट’मा औसतभन्दा राम्रो देखिएको भन्दै इयूले बन्देज हटाउनुपर्ने उनको दाबी छ ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले टिकट मूल्यमा ‘कार्टेलिङ’ हुँदा चिनियाँ पयर्टकको संख्यामा कमी आएको बताए ।
उनले भ्रमण वर्ष २०२० सफल बनाउन सबै पर्यटकलाई भिसा शुल्क निःशुल्क गराउन पनि आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड हेन्डलिङ’मा निकै सुधार आवश्यक रहेकामा उनले मन्त्री भट्टराईको ध्यानाकर्षण गराए ।
कार्यक्रममा भ्रमण वर्ष २०२० को लोगोअंकित चेम्बरको ‘लेटरहेड’ पनि सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्