Logo १४ माघ २०८२, बुधबार | Thu Jan 29 2026


आज पशुपतिनाथको क्षमा पूजा गरी भोलिदेखि दर्शन खुला गरिने


0
Shares

Pashupatinath reopen from wednesday

काठमाडौं, मंसिर ३० । पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा गरिँदैछ । नौं महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपरेकामा क्षमा माग्दै आज बिहान क्षमा पूजा गर्न लागिएको हो ।

प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश कोरोना महामारीका कारण रोक्नु परेकामा क्षमा दिन पूजा गर्न लागिएको हो ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभएको छ ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।

मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् भने मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द हुँदा कोषलाई करिब रु. ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको भनाइ छ।

महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डन बताउनुहुन्छ ।