
मीरा बस्नेत/कबिर महर्जन (इमेज)
काठमाडौं, साउन ४ । नेपाल प्रज्ञा प्रतिष्ठान बेलाबेलामा श्रद्धाञ्जलिस्थलमा परिणत हुने गर्दछ ।
कलाकार, लेखक, साहित्यकार वा कुनै स्रष्टाको निधन भयो भने श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठान पुर्याउने चलन बढ्दो छ ।
तर, प्रतिष्ठानमा क्रियाशील तीनओटा कर्मचारी संघ–संगठनहरुले प्रतिष्ठानलाई श्रद्धाञ्जलिस्थल बन्न दिन नहुने माग राखेका छन् ।
साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस सुरु भएको छ ।
२०४७ साल मंसिर १९ गते स्वरसम्राट नारायणगोपालको निधनपछि सो परिसरमा श्रद्धाञ्जलिका लागि शव ल्याउने प्रचलन सुरु भएको हो ।
राजधानीको केन्द्रमा रहेको प्रज्ञा प्रतिष्ठानमा दिवंगत स्रष्टालाई राज्यका उच्च तहका व्यक्ति र साहित्यकार–शुभेच्छुकले श्रद्धाञ्जलि दिने र त्यसपछि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ हुँदै आएको छ ।
तर, सो स्थानमा कुन तहका साहित्यकार वा कलाकारको शव राख्ने भन्ने मापदन्ड नतोकिँदा यो कार्य व्यवस्थित बन्न सकेको छैन ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कर्मचारी संगठनहरुमात्र नभइ स्रष्टाहरुले पनि विरोध गरिरहेको बताए ।
उनले साहित्यकार पारिजात, प्रतिष्ठानकै पूर्वउपकुलपति मोहन कोइरालालगायतका अरु विशिष्ट स्रष्टाहरुको श्रद्धाञ्जलि प्रतिष्ठानमा नगरेको बताउँदै शव नै राख्नेभन्दा पनि शोकसभामात्र गर्न दिने बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष धनबहादुर कार्कीले साहित्यिक र सांस्कृतिक वातावरणले आनन्द दिने स्थानलाई ‘मुर्दाघर’मा परिणत गर्ने स्थितिको अन्त्य गर्न आफूहरुले माग गरेको बताए ।
प्रतिष्ठानका हलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका हुनसक्ने वा मान्छे भोज खाइरहेका हुनसक्ने भएकाले त्यस्तो बेलामा शव ल्याउँदा वातावरण नै वियोगान्त बन्न पुग्ने कार्कीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्