२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शान्ति–प्रक्रिया टुंगोमा पुर्‍याउन हेलचेक्र्याइँ गरिएको भन्दै आपत्ति


0
Shares

काठमाडौं, साउन २३ । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले शान्ति–प्रक्रिया टुंगोमा पुर्‍याउन हेलचेक्र्याइँ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिमा किन ढिलाइ भइरहेको छ ?’ भन्दै प्रश्न गरे ।

यस्तै, सांसद प्रेम सुवालले भारतले आफ्नो संविधानको धारा निलम्बन गरेर कश्मिरमा गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै नेपाल सरकारको आधिकारिक धारणा माग गरे ।

ऊर्जामन्त्रीको जवाफ

बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जुम्लामा विद्युत्को वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी दिए ।

बुधबारको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरण गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएका थिए ।

शून्य समय

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरुले असार अन्तिम साता आएको बाढी, पहिरो र डुबानबाट पीडित नागरिकका लागि राहत तथा पुनःस्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु सीतादेवी यादव र सरिताकुमारी गिरीले बाढी प्रभावितको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले सुनको अवैध कारोबार रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने र भइरहेको मूल्य नियन्त्रण राख्नसमेत ध्यानाकर्षण गराए ।

सांसद लक्ष्मी परियारले शान्ति–सुरक्षाको प्रत्याभूति गर्न र हालै पूर्वी जिल्लामा दलित युवामाथि भएको कुटपिटको घटना छानबिन गर्न माग गरिन् ।