Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


वित्तीय संस्थामा साना उद्यमीको पहुँच नपुग्दा फष्टाउन सकेनन् साना उद्योग


0
Shares

डडेल्धुरा । वित्तीय संस्थामा साना उद्यमीको पहुँच नपुग्दा डडेल्धुराका घरेलु तथा साना उद्योग फष्टाउन सकिरहेका छैनन् ।

साना उद्यमीहरुलाई प्रोत्साहन र प्रवद्र्र्धन गर्न राज्यले पर्याप्त ध्यान दिन नसक्दा साना उद्योग फस्टाउन नसकेको हो ।

डडेल्धुराका उद्यमीहरुले आफूहरुले घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिई पुख्र्यौली पेशालाई निरन्तरता दिएर काम गरे पनि व्यावसायिकरुपमा अगाडी बढ्न पुँजीको अभावले सिपमूूलक पेशाहरु संकटमा परेको बताउछन् ।

उद्योगतर्फ उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन र सेवामूलक गरी २३८३ लघु उद्यमी र किराना हार्डवेयर, मोबाइल ट्रेड, सप्लायर्स, विविध पसलहरु लगायत विभिन्न किसिमका २१०० वाणिज्य स्वरोजगार व्यावसायिक फर्महरु दर्ता रहेको डडेल्धुरामा साना तथा घरेलु उद्यमीहरुको वित्तीय संस्था र बैंकहरुमा सहज पहुँच नभएको गुनासो उद्यमीहरुको छ ।

एकातिर तालिम लिएका अधिकांश घरेलु तथा साना उद्यमीहरुले प्रमाणपत्रका लागि तालिम लिने र अर्कोतिर अनुदानका लागि पनि घरेलु कार्यालयमा विभिन्न फर्महरु दर्ता गर्ने प्रवृति बढेका कारण काम गरीखाने उद्यमी तथा सिल्पीहरु ओझेलमा परेको घरेलु तथा साना उद्योग कर्यालय डडेल्धुराका कार्यालय प्रमुख केशव भण्डारी बताउनुहुन्छ ।

अल्लो प्रशोधन, सिलाई कटाई, हेयर कटिङ, व्यूटिसियन, बेतबाँस, च्यूरी प्रशोधन, छालाजुत्ता, हाउसवाइरिङ, हाते कागज, दुना–टपरी, दुग्धजन्य उत्पादन, मौरीपालन, पुष्प व्यवसाय, अचार गुन्दु्रक, आलु चिप्स, कोसेली घर, खाजा तथा नमकिन लगायतका विभिन्न कृषि, वनजन्य र पर्यटनजन्य उत्पादनका लागि प्रचुर सम्भावना रहे पनि उद्यमीको ईच्छाशक्ति र लगानी अभावका कारण डडेल्धुराका उद्यमी फष्टाउन अझै चुनौतीपूर्ण देखिन्छ ।

साना उद्यमीहरुलाई प्रोत्साहन र प्रवद्र्र्धन गर्न राज्यले पर्याप्त ध्यान दिन सके लघुउद्यम क्षेत्र संस्थागत हुनुका साथै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ ।