
काठमाडौं । भारतका परराष्ट्र सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणमा आज(बिहीबार) नेपाल आउनुभएको छ ।
विदेश सचिव शृंगलाले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
विदेश सचिव शृंगलाको भ्रमणसँगै नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुन लागको हो ।
नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला आज काठमाडौं आउनु भएको हो ।
२०७६ भदौ ४ गते काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकर नेपाल आउनुभएको थियो । त्यसको दुई महिनापछि भारतले कालापानीसमेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो ।
त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकिएको थियो । गत अगस्ट १५ मा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो ।
त्यसपछि भारतीय गुप्तचर संस्था ‘र’ प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।
द्विपक्षीय वार्तामा नेपालले कालापानी, सुस्तालगायत सीमा समस्या समाधानमा जोड दिने भएको छ ।
त्यसका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक शीघ्र बस्नुपर्ने, प्राविधिक तहमा पनि द्विपक्षीय छलफल हुनुपर्ने धारणा नेपाली पक्षले राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै भारतीय विदेश सचिव नयाँदिल्ली फर्केको दुई दिनपछि आइतबार चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणमा नेपाल आउनुहुने भएको छ ।
उनको भ्रमण सार्वजनिक नभएपनि एक दिने भ्रमणका लागि परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय र जंगी अड्डाले तयारी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्