Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भरतपुर महानगरको असोज मसान्तसम्म १२ प्रतिशत विकास खर्च


0
Shares

चितवन, मंसिर ६ । चितवन जिल्लाको एकमात्रै महानगरपालिका भरतपुरले चालू आर्थिक वर्ष २०७७/०७८ को साउन १ गतेदेखि असोज मसान्तसम्म करिब १२ प्रतिशत विकास खर्च गरेको छ ।

महनगरपालिकाले जारी गरेको जानकारीमूलक पुस्तिकामा सो जानकारी दिइएको हो ।

चालू आर्थिक वर्षको साउन १ गतेदेखि असोज मसान्तसम्मको विवरण समावेश गरेर महानगरपालिकाले जारी गरेको तथ्यांकअनुसार पुँजीगततर्फ एक अर्ब ८१ करोड ११ लाख ५५ हजार रुपैयाँ वार्षिक बजेट रहेपनि महानगरपालिकाले असोज मसान्तसम्म २१ करोड १२ लाख २९ हजार खर्च गरेको हो । जुन ११.६७ प्रतिशत हुन आउँछ ।

पुँजीगत खर्चको तुलनामा महानगरपालिकाले चालू खर्च भने बढाएको छ । चालूतर्फ वार्षिक बजेट एक अर्ब ८३ करोड ६४ लाख ३८ हजार रहेकोमा महानगरपालिकाले ३१ करोड चार लाख २० हजार खर्च गरेको छ । जुन पुँजीगत खर्चको तुलनामा ५.२४ प्रतिशतले बढी हो ।

महानगरपालिकाको कुल वार्षिक बजेट तीन अर्ब ६४ करोड ७५ लाख ३३ हजार रहेकोमा तीन महिनाको अवधिमा चालू र पुँजीगत गरी ५२ करोड १६ लाख ४९ हजारमात्रै खर्च गरेको जनाइएको छ ।