Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


पोखरा विश्वविद्यालयको परीक्षा अझै टुंगो लागेन


0
Shares

काठमाडौ, मंसिर ५ । करिब वर्ष दिनपछि मात्र उपकुलपति पाएको पोखरा विश्व विद्यालयको प्रशासनिक लगायतका दैनिक कामकाजहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।

उपकुलपति लगायतका पदाधिकारी नियुक्त समयै नहुँदा डिन नियुक्ति, संयुक्त कलेजका निर्देशक नियुक्ति, कर्मचारी नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायतका कामहरु प्रभावित भएका थिए ।

गत असोज १८ गते उपकुलपतिको कार्यभार सम्हाल्नुभएका प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालले रजिष्ट्रार र परीक्षा नियन्त्रकमा तीन महिनाको लागि नियुक्ति गर्न सक्ने व्यवस्था बमोजिम पदाधिकारी नियुक्ति गरेर कामकाज सहज बनाउने प्रयास गरे पनि कामकाज प्रभावकारी हुन सकेको छैन ।

कोरोना भाइरसका कारण रोकिएको पढाइलाई अनलाइन प्रणाली मार्फत निरन्तरता दिएपनि परीक्षा कुन विधिबाट कसरी गर्ने भन्नेसम्म तय गरिसकेको छैन ।

त्रिभूवन विश्वविद्यालयले भौतिक रुपमा परीक्षा सञ्चालन तथा पूर्वाञ्चल विश्व विद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिने तयारी गरिरहंदा ३२ हजार भन्दाबढी विद्यार्थी अध्ययनरत पोखरा विश्वविद्यालय भने समिति गठन गरेर बल्ल परीक्षाको तयारीमा जुटेको छ ।