३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


करछली गर्ने ६८ व्यवसायी कारबाहीमा


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन ३ । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७४/०७५ मा करछली गर्ने ६८ जना व्यवसायीलाई कारबाही गरी करको दायरामा ल्याएको छ । उनीहरुले कर छलेको पाइएपछि कारबाही गरिएको हो ।

आम्दानीअनुसार कर नतिरेकाले ती व्यवसायीहरुमाथि जरिवानासहितको कर लगाइएको आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिए ।

उनले ती सबैलाई कारबाही गर्दा असुल्नुपर्ने कर तीन करोड ५४ लाख ५ हजार रुपैयाँ पुगेको बताए । जसमध्ये ३४ प्रतिशतले जरिवानासहितको कर तिरिसकेको जानकारी दिँदै बोहराले केहीले तिर्ने प्रक्रियामा रहेको बताए ।

पछिल्लो समय आन्तरिक राजस्व विभागले कर संकलनको प्रणालीमा सुधार गरेपछि व्यवसायीले ठीक तरिकाले कर तिरेको वा छली गरेको पुष्टि आन्तरिक राजस्व कार्यालयको ‘सिस्टम’बाटै थाहा हुने उनले बताए ।

एक करोड रुपैयाँसम्मको कारोबार गर्ने करिब १५ देखि २० प्रतिशत व्यवसायीहरु विविध कारणले अझैपनि करको दायराभन्दाबाहिर रहेको प्रमुख कर अधिकृत बोहराले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा ८.७० प्रतिशत बढी दुई अर्ब ७७ करोड ६४ लाख ९७ हजार रुपैयाँ कर संकलन गरेको छ । उक्त अवधिमा दुई अर्ब ५५ करोड ४२ लाख २२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकर ९७ करोड ९४ लाख ६२ हजार, बहालकर ९ करोड ५० लाख ६४ हजार, ब्याजकर ३ करोड २० लाख ४९ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, मूल्य अभिवृद्धि कर ७२ करोड २९ लाख ३६ हजार, अन्तःशुल्क कर ९३ करोड ३० लाख १७ हजार संकलन गरेको छ ।

यस्तै, स्वास्थ्य सेवा कर ४८ लाख ४५ हजार र शिक्षाकर ९१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । 

आर्थिक वर्ष २०७४/०७५ मा आन्तरिक राजस्व कार्यालय धनगढीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.५७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ ।

चालू आर्थिक वर्षमा तीन अर्ब ३७ करोड १ लाख १९ हजार रुपैयाँ कर संकलन गर्नुपर्ने लक्ष्य दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय धनगढीले साविकको सेती अञ्चलमा पर्ने पाँच जिल्लाका कर संकलन गर्दै आएको छ । पाँचै जिल्लामा गरी ४० हजारभन्दा बढी करदाता रहेका छन् ।

जसमध्ये सबैभन्दा बढी कर तिर्ने धनगढीमा रहेको नवजीवन सहकारी संस्था लिमिटेड हो । नवजीवनले वार्षिक दुई करोड ४० लाख रुपैयाँसम्म कर तिर्दै आएको छ ।