३० असार २०८२, सोमबार | Mon Jul 14 2025


इमरान खानको कुटनीतिक ‘बलिङ’ मा भारतको ‘विकेट’ गुम्यो ! ट्रम्पले लिए ‘क्याच’


0
Shares

वासिंटन, साउन ८ । पाकिस्तानलाई विश्वकप क्रिकेट उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका इमरान खान अहिले देशलाई राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन् ।

पाकिस्तानको प्रधानमन्त्रीका रुपमा उनले हालै पहिलो पटक अमेरिकाको भ्रमण गरे । भ्रमणमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय भेटवार्ता गरे । छलफलमा दुई मुलुकबीच देखिएको अविश्वासलाई हटाउन र आगामी दिनमा आपसमा विभिन्न विषयमा सहकार्य गर्न दुवै नेता सकारात्मक भएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानको अमेरिका भ्रमणप्रति अन्तर्राष्ट्रिय समुदायले विशेष चासो राखेको थियो । खासगरी भारतले उनको भ्रमणलाई सुक्ष्म ढंगले नियालिरहेको थियो ।

भारत र पाकिस्तान परम्परागत रुपमा प्रतिद्वन्द्वी मुलुक हुन् । परमाणु हतियार सम्पन्न दुवै मुलुकबीच पछिल्लो समय तनावपूर्ण सम्बन्ध देखिएको छ । त्यसैले पनि महाशक्ति राष्ट्र अमेरिकाको भ्रमणमा प्रतिद्वन्द्वी मुलुकका सरकार प्रमुखको भ्रमण हुँदा भारत चनाखो रहनु अस्वाभाविक होइन ।

अमेरिका पुग्नासाथ इमरान खानले रेल यात्रा गरेर अन्तर्राष्ट्रिय मिडियाको ध्यान आफूतिर आकर्षित गरे । उनले आफ्नो मुलुक आर्थिक संकटमा रहेको उल्लेख गर्दै विदेश भ्रमणका नाममा राज्यकोषबाट ठूलो रकम खर्चिने परम्परालाई अन्त्य गर्न ‘रेलयात्रा’ गरेका थिए । यतिमात्र होइन, उनी पाँचतारे होटलमा नबसी आफ्नै राजदूतको निवासमा बसे । यसरी उनले विदेश भ्रमणका क्रममा खर्च हुने झण्डै चार लाख अमेरिकी डलर बराबरको रकम जोगाएको विश्लेषकहरुको भनाइ छ ।

तर, कतिपय भारतीय सञ्चारमाध्यमले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उक्त कार्यलाई ‘मजाक’ को विषय बनाए । भारतीय सञ्चारमाध्यमले इमरान खानको ‘कुटनीति’ बुझ्न सकेनन् । ‘अमेरिका भ्रमणमा इमरान खानको अपमान’जस्ता शीर्षकमा भारतीय सञ्चारमाध्यमले उनको स्वागतमा अमेरिकी शीर्ष अधिकारी नआएको, रेलमा यात्रा गर्नु परेको जस्ता विषयलाई ‘रोचक’ कथामा समेटेर प्रस्तुत गरे ।

जब ‘ह्वाइट हाउस’ मा इमरान खान पुगे, अन्तर्राष्ट्रिय मिडियाले समाचार ‘कभर’का लागि संवाददाता खटाए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री खानबीच द्विपक्षीय हितका बारेमा छलफल भयो । यसअघि पाकिस्तानप्रति रहँदै आएको अमेरिकी अविश्वास र अमेरिकाप्रतिको पाकिस्तानी गुनासो दुवै पक्षले छलफलमा राखे । यही छलफलका क्रममा भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धको चर्चा पनि भयो, जहाँ अमेरिकी राष्ट्रपति ट्रम्पले आफू मध्यस्थताका लागि तयार रहेको बताए ।

संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट दुई साताअघि आफूलाई कश्मीर मुद्दामा मध्यस्थताका लागि प्रस्ताव आएकोसमेत सुनाए । पाकिस्तानी प्रधानमन्त्री खानले आफूलाई यसमा कुनै आपत्ति नरहेको बताए ।

अमेरिकी राष्ट्रपतिबाट कश्मीरका विषयमा अभिव्यक्ति दिने अवस्था सिर्जना गर्नु पाकिस्तानी प्रधानमन्त्री खानको कुटनीतिक सफलता मानिएको छ । विश्व समुदायले प्रायः कश्मीर मुद्दामा आफ्नो धारणा राख्न चाहँदैनन्, किनकी भारतले सुरुदेखि नै यो विषयमा अन्य मुलुकको मध्यस्थता वा कुनै प्रकारको भूमिकालाई अस्वीकार गर्दै आएको छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानी प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा कश्मीर मुद्दाबारे धारणा राख्दै आफू मध्यस्थताका लागि तयार रहेको र मोदीबाट समेत आफूलाई त्यस्तो प्रस्ताव आएको बताएर इमरान खानको नाममा भारतको ‘विकेट’ लिएका छन् । क्रिकेटको भाषामा यसलाई इमरानको बलिङमा ट्रम्पको हातमा भारत ‘क्याच आउट’ भएको बुझ्न सकिन्छ ।

यता, भारतले ट्रम्पको सो भनाइ ‘झुटो’ रहेको दावी गर्दै आएको छ । मोदीले ट्रम्पसँग त्यस्तो प्रस्ताव नगरेको भारतको दावी छ । मोदीले यसबारे कुनै प्रतिक्रिया नजनाए पनि भारतीय विदेश मन्त्रालयले ट्रम्पसँगको भेटमा मोदीबाट त्यस्तो प्रस्ताव नगरिएको दावी गरेको छ ।

‘के त्यसो भए ट्रम्पले झुट बोले ?’ प्रश्न उठ्नु स्वाभाविक हो । सार्वजनिक रुपमा ट्रम्पले मोदीबाट मध्यस्थताका लागि प्रस्ताव आएको टिप्पणी गर्नुअघि आफूले दिएका अभिव्यक्ति अन्तर्राष्ट्रिय मिडियामा ठूलो समाचार बन्छ भन्ने नसोचेका होइनन् होला । उक्त विषयमा मोदीले प्रस्ताव नगरेको हुन्थ्यो भने ट्रम्पले यतिठूलो ‘झुट’ बोलेर आफू हलुका बन्न चाहेका होलान् र ? कुटनीतिक वृत्तले जवाफ पाउन सकेको छैन ।

जे होस्, क्रिकेटमा पाकिस्तानलाई ‘विश्वकप’ दिलाएका इमरान खानले कुटनीतिमा पनि अमेरिका भ्रमणका क्रममा आफ्नो परिपक्वता प्रदर्शन गरेका छन् । अमेरिका र भारतबीच देखिएको सहकार्य र समझदारीमा उनको भ्रमणपछि एक प्रकारको अविश्वास खडा भएको छ, जो पाकिस्तानका लागि ठूलो कुटनीतिक सफलता मानिएको छ । तत्कालका लागि आगामी दिनमा अमेरिका र भारतबीचको सम्बन्ध कस्तो हुने हो र अहिले देखिएका अविश्वासलाई कसरी समाधान गर्ने भन्ने चुनौती भारतसामु देखिएको छ । (एजेन्सी)