२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विराटनगरको शहिद रंगशालामा फ्लडलाइट जडानको तयारी, रात्रीकालीन खेलकुद प्रतियोगिता गर्न सकिने


0
Shares

विराटनगर । रात्रीकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्न विराटनगरको शहिद रंगशाला तयार गर्न थालिएको छ ।

रंगशालामा स्थायी फ्लडलाइटको व्यवस्था गरी रात्रीकालीन खेलकुद प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो ।

फ्लडलाइट जडान थालिएसँगै तराईको गर्मीमा तातो घाममा खेल खेल्नुपर्ने खेलाडीको बाध्यता पनि अन्त्य भएको छ ।

स्थायी फ्लडलाइट जडान गरेपछि शहिद रंगशालामा रात्रीकालीन खेलकुद प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिने छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले रंगशालाका लागि स्थायी फ्लडलाइट जडान गर्न लागेको हो । फ्लडलाइट जडानका लागि पोलहरू रंगशालामा ल्याइसकिएको छ ।

लाइटहरू पनि विराटनगर भन्सारमा आइसकेकाले केही दिन भित्रै रंगशालामा आइपुग्ने छ ।

फ्लडलाइट जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनी कार्की बन्धु जेभीले दुई तीन दिन भित्रै फ्लडलाइट जडानको काम सुरू गर्ने छ ।

फ्लडलाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको हो ।

गत वर्ष नै ठेक्का लागेको भए पनि ठेकदार कम्पनीले समयमै काम नगर्दा फ्लडलाइट जडानमा ढिलाइ भएको थियो ।

सात महिनामा काम सम्पन्न गर्नेगरी गत वर्षको असोजमा ठेकदार कम्पनी र प्रदेश सरकारबीच सम्झौता भएको थियो ।

तर सम्झौता अनुसार काम नभएको र लकडाउनले पनि काम प्रभावित बनाएकाले फ्लडलाइट जडानमा ढिलाइ भएको हो ।

मन्त्रालयले पुस २८ गतेसम्मलाई म्याद थप गरेकाले थप म्याद अगाडि नै काम सकिने छ । शहिद रंगशालामा ३२ देखि ३५ मिटर उचाइको फ्लडलाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गरिने छ ।

मैदानको चार कुनामा जडान हुने १ सय ८ फिट अग्लो मस्टमा १ सय ८ वटा बल्व जडान गरिने छ ।

फ्लडलाइट जडानपछि विराटनगरको शहिद रंगशालामा रात्रीकालीन फुटबल प्रतियोगिता गर्दा खेलकुद क्षेत्रको विकासमा थप टेवा पुग्ने फुटबल प्रशिक्षक पारस चौधरीको भनाइ छ ।

फ्लडलाइट जडानले खेलाडीहरुलाई समेत फाइदा पुग्ने खेलाडी प्रविन रानामगर बताउँछन । फ्लडलाइट जडानपछि खेलकुद क्षेत्रको आय श्रोत बढ्ने देखिन्छ ।

तसर्थ पूर्वाधार विकास मात्र नभइ यसको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।