
काठमाडौं, साउन २ । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला तथा पुरुष दुवै टिम समूह चरणबाटै बाहिरिएको छ ।
समूहको अन्तिम खेलमा बिहीबार महिला टिम इरानसित ५–१ ले पराजित भयो । नेपालका लागि अञ्जना चन्दले एक सान्त्वना गोल गरिन् ।
महिला टोलीले खेलेका चार खेलमध्ये एकमा जित हासिल गर्दा तीन खेल हारेको हो । नेपालले फिलिपिन्सलाई ३–२ ले हराएको हो ।
नेपाल काजखस्तानसँग ८–० ले तथा उज्वेकिस्तानसँग ९–० ले पराजित भएको थियो । नेपालले ४ गोल गर्दा २४ गोल खायो ।
पुरुष टिम सबै खेलमा पराजित
पुरुष टिमले भने खेलेका सबै चारओटै खेल हारेको छ ।
बिहीबार चाइनिज ताइपेइसित प्रतिस्पर्धात्मक खेलमा नेपाल ७–६ ले पराजित भयो । मध्यान्तरसम्म ५–५ को बराबरी भएपनि मध्यान्तरपछि नेपाल एक गोलले पछि परेको हो ।
नेपालका लागि रोमन रानाले ४ तथा नविन क्षेत्रीले २ गोल गरे ।
यसअघि, नेपाल सिंगापुरसित १५–१ ले, उज्वेकिस्तानसित १३–२ ले र काजखस्तानसित १२–१ ले पराजित भएको थियो । नेपालले समग्रमा १० गोल गर्दा ४७ गोल खायो ।
प्रतिक्रिया दिनुहोस्