Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


‘साग’मा पदक जित्न विदेशमै प्रशिक्षण दिनुपर्नेमा जोड


0
Shares

काठमाडौं, असार ३० । आउँदो मंसिरमा नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार खेल संघहरुसँग अन्तरक्रिया गरेको छ ।

सोक्रममा संघका प्रतिनिधिहरुले सागमा पदक जित्न वैदेशिक प्रशिक्षणको माग गरेका थिए ।

उनीहरुले नेपालमा यसअघि भएको आठौं सागको नतिजालाई दोहोर्‍याउने हो भने वैदेशिक प्रशिक्षण जरुरी रहेको बताएका हुन् ।

त्यसैगरी, केही खेलको अभ्यासस्थलकोसमेत अभाव भएको भन्दै गुनासो गरिएको छ ।

खेल संघका प्रतिनिधिले सीमित खेलाडीमात्र विशेष प्रशिक्षणमा सहभागी भएको बताउँदै पदकको सम्भावना भएका अन्य खेलाडीलाईसमेत बन्द प्रशिक्षणमा समावेश गर्न माग गरे ।

राखेपले सागको तयारीका लागि व्यक्तिगत स्पर्धाका खेलको विशेष प्रशिक्षण सुरु गरेपनि ‘टिम गेम्स’को प्रशिक्षण सुरु गर्न सकेको छैन ।

कार्यक्रममा राखेपसदस्यसचिव रमेश सिलवालले संघहरुको सुझाव कार्यान्वयन गर्न अन्तरक्रिया गरिएको बताउँदै संघहरुको उचित योजनालाई कार्यान्वयन गरिने आश्वासन दिए ।

अन्तरक्रियामा सागमा सहभागी हुने सबै २७ ओटै खेलका प्रतिनिधि सहभागी थिए ।