
काठमाडौं, असार ३० । त्रिभुवन आर्मी क्लब ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुईपटकको च्याम्पियन आर्मी जावलाखेल युथ क्लबसँग ‘सडनडेथ’मा ४–३ पराजित भयो ।
निर्धारित् समय गोलरहित बराबरीमा सकिएपछि ‘पेनाल्टी सुटआउट’मा गएको खेलमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमा निर्णायक बनेको हो ।
सडनडेथमा जावलाखेलका राम गुरुङले गोल गर्दा आर्मीका आशिष आले गोल गर्न चुकेका थिए ।
पुलिस सेमिफाइनलमा
जावलाखेलले सेमिफाइनलमा नेपाल पुलिस क्लबसित खेल्नेछ । पुलिसले सोमबारै भएको अन्तिम क्वार्टरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० ले हरायो ।
पुलिसका लागि मन्जिल राईले खेलको अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए ।
अर्को सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ । आइतबारका खेलमा विजयी हुँदै मनाङ र ब्रिगेड ब्वाइज सेमिफाइनलमा पुगेका हुन् ।
‘लिगकम नकआउट’का आधारमा ‘ए’ डिभिजनका १४ क्लबलाई तीन समूहमा विभाजन गरी खेलाइएको प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुस्कार पाउनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्