
-प्रकाश लम्साल, ईमेज
बारा । बाराका विभिन्न स्वास्थ्य संस्थामा विगत डेढ वर्षदेखि औषधिको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
राज्यले निःशुल्क वितरण गर्ने औषधि नपाएपछि निजी औषधि पसलबाट महँगोमा औषधि किन्दा विपन्न परिवारलाई मर्का परेको हो ।
बारा जिल्ला अस्पतालसहित ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र सयौँ वडाका स्वास्थ्यकेन्द्रमा औषधिको चरम अभाव छ ।
जीवनजलसम्म किनेर खानुपर्ने बाध्यता भएपछि निम्नआर्थिक स्तर भएका परिवार निजी मेडिकलबाट मँहगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता देखिएको छ ।
सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि उपलब्ध हुनुपर्ने हो ।
तर तीमध्ये आफूहरुसँग १६ प्रकारका औषधि मात्र रहेको स्वास्थ्य केन्द्र सीमराकी डा. प्रमा रश्मी बताउँछिन ।
पटकपटक आग्रह गर्दा पनि उपमहानगरपालिकाले समयमा औषधि उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।
स्थानीय सरकार गठन भएपछि पछिल्लो डेढ वर्षयता अधिकांश स्वास्थ्य संस्था औषधिको अभावमा गुज्रिएका छन् ।
गर्मी याममा धेरै आउने लुतो, चिलाउने, झाडापखाला, रुघाखोकीलगायतका विरामीको चाप बढी छ तर ती औषधि स्वास्थ्यकेन्द्रमा उपलब्ध छैनन् ।
कतिपय स्वास्थ्य केन्द्रमा संयोजक नरहेको तथा स्थानीय जनप्रतिनिधिले पनि सक्रिय भूमिका नदेखाउँदा जिल्लाका १६ ओटै स्थानीय तहमा औषधी अभाव भएको हो ।
उता जितपुर सीमरा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक बाबुलाल सहनिया भने तिन/तिन महिनामा सेवा केन्द्रमा औषधि पठाइएकाले व्यवस्थापन गर्न नसक्दा अभाव भएको दाबी गर्छन ।
जिल्लाका कतिपय स्थानीय तहमा केन्द्र बाट आउने क्षयरोय, कुष्टरोग लगाएतका औषधीहरु स्बास्थ्य केन्द्रमा थन्किएको अवस्थामा पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्