लन्डन, असार ३० । विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । निर्धारित ५० ओभर र सुपर ओभरमा समेत बराबरी भएको खेलमा इंग्ल्याण्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को नियमका आधारमा उपाधि हात पारेको हो ।
निर्धारित ५० ओभरमा बराबरी
लर्डस मैदानमा उपाधिका लागि भएको भिडन्तमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच निर्धारित ५० ओभरको खेल बराबरीमा टुंगिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले ५० ओभरमा सबै विकेट गुमाउँदै २४१ रनमात्र बनाउन सक्यो ।

सुपर ओभर पनि बराबरी
निर्धारित ५० ओभरको खेल बराबरीमा सकिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको थियो । सुपर ओभर अन्तर्गत दुवै टिमले एक–एक ओभर ब्याटिङ गर्दछन् । त्यही एक ओभरको खेलले विजेताको टुंगो लगाउने गरिन्छ ।
तर, सुपर ओभरमा पनि न्यूजिल्याण्ड र इंग्ल्याण्डले बराबरी खेले ।
सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै १५ रन बनायो । न्यूजिल्याण्डले १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ ग¥यो । तर उसले १५ रनमात्र बनाउन सक्यो र नतिजा फेरि बराबरीमै टुंगियो ।

यसरी चुनियो विश्वविजेता
सुपर ओभरमा समेत दुवै टिमले बराबरी खेलेपछि आइसीसीको नियमअनुसार विश्वविजेता चयन गरिएको हो । सुपरओभर पनि बराबरी भएमा सर्वाधिक ‘बाउन्ड्री’ प्रहार गर्ने टिमलाई विजेता घोषित गर्ने नियम छ । न्यूजिल्याण्डको तुलनामा इंग्ल्याण्डले बढी ‘बाउन्ड्री’ प्रहार गरेका कारण इंग्ल्याण्डलाई विजेता घोषित गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्