
काठमाडौं, असार २४ । पटक–पटक निर्माण सुरु भएरपनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण छिट्टै सुरु हुने भएको छ ।
बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र पोखरी वरिपरिको बगैंचा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्सट्रक्सन जेभीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
पुनःनिर्माणका लागि सम्झौता रकम रु १४ करोड २७ हजार ५५७ छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि सम्झौता हुनुलाई सुखद पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा बनाइने प्रतिबद्धता पुनः दोहोर्याए ।
उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनःनिर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि द्रुतगतिमा अघि बढ्ने जानकारी दिए ।
प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनःनिर्माण गर्दा मन्दिरलाई र मन्दिरको पुनःनिर्माण गर्दा रानीपोखरीलाई असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए ।
प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शर्माले निर्धारित् समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
निर्माण व्यवसायी श्रेष्ठले प्राधिकरण, उपभोक्ता समितिलगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र वरिपरिको क्षेत्रमा पुनःनिर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र स्थानीयवासीबीच एकार्कालाई सहयोग गरेर समन्वयात्मकरुपमा पुनःनिर्माणको काम गर्ने सहमति भएको बताए ।
रानीपोखरी उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको छ ।
मन्दिर र रानीपोखरी क्षेत्रको संरचनामा वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्