
इमेज जिल्ला ब्यूरो
काठमाडौं, असार २४ । भारतबाट विषादी परीक्षणपछिमात्र तरकारी तथा फलफूल आयात गर्ने निर्णयबाट सरकार पछि हटेपनि कतिपय नाकाबाट अझै तरकारी भित्रिन सकेको छैन ।
आवश्यक तयारी नपुगेको भन्दै विषादी परीक्षण स्थगित गरेपनि ‘प्लान्ट क्वारेन्टाइन’ परीक्षणसमेत हुन नसकेको हो ।
सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकामा विषादी परीक्षण प्रयोगशाला नहुँदा तरकारी बोकेका गाडीहरु अझै भित्रिन सकेका छैनन् ।
सरकारको निर्णयको आधिकारिक परिपत्र नआएको भन्दै अझैपनि तरकारी बोकेका गाडीलाई सीमानाकामा कडाइ गरिएको छ ।
अधिकांश व्यापारीले तरकारी तथा फलफूल नेपालगन्जको रुपैडिया नाकाबाट ल्याइरहेका छन् ।
क्वारेन्टाइन कार्यालय गड्डाचौकी, मुकाम कार्यालय धनगढीका प्राविधिक सहायक देवराज खाती आधिकारिक सूचना आएपछि पुरानै अवस्थामा तरकारी आयात गरिने बताउँछन् ।
विराटनगरको जोगवनी नाकाबाट भने बिनापरीक्षण तरकारी भित्रिरहेका छन् ।
त्यस्तै, झापाको काँकडभिट्टा नाकामा पनि फलफूल तथा तरकारीको आयातमा खासै अवरोध देखिँदैन । प्लान्ट क्वारेन्टाइन परीक्षण कार्यालयले पनि निर्वाधरुपमा तरकारी ल्याउन दिइरहेका छन् ।
उता, रुपन्देहीको सुनौली नाकाबाट पनि तरकारी तथा फलफूल बिनापरीक्षण भित्रिन थालेको छ ।
पर्साको रक्सौल नाकाबाट तरकारीहरु भित्रिनेक्रम बढ्न थालेको छ ।
केन्द्र सरकारले निर्णय फिर्ता लिएपछि विषादी परीक्षणको काम रोकिएको क्वारेन्टाइन कार्यालय वीरगन्जका कार्यालय प्रमुख गणेशप्रसाद यादवको भनाइ छ ।
नेपाल–भारत सीमानाकामा विषादी परीक्षण र क्वारेन्टाइनका लागि पूर्वाधार निमार्णपछिमात्रै निकासी–पैठारी नीतिको पूर्णकार्यान्वयन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्