१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


व्यवसायमुखी मौद्रिक नीति ल्याउन आग्रह


0
Shares

काठमाडौं, असार २३ । आगामी मौद्रिक नीति व्यवसायमुखी बनाउन उद्योगी–व्यवसायीले माग गरेका छन् ।

नेपाल राष्ट्र बैैंकले सोमबार काठमाडौंमा गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा व्यवसायीहरुले बैंक र व्यवसायीहरु सहयात्री भएर अघि बढ्नुपर्ने बताए ।

आगामी मौद्रिक नीतिले ब्याजदर घटाउन भूमिका खेल्नुपर्नेमा उद्योगी–व्यवसायीहरुको माग रह्यो ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने तथा ऊर्जा उत्पादनमा बैंकहरुले ५० प्रतिशत लगानी गर्नुपर्ने बताइन् ।

नेपाल उद्योग परिसंघका सदस्य अनलराज भट्टराईले तरलता घटाउनका लागि बैंकहरुले कर र ब्याजदरको भुक्तानीमा विचार गर्नुपर्ने तथा आधारदरमा ऋण दिनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले ब्याजदर घटाउनुपर्ने, ‘हेजिङ’को दायरा विस्तार गरिनुपर्ने, पुनर्कर्जाको व्यवस्था एवं नगद ओसारपसारमा पनि स्पस्ट कानुनी व्यवस्थालगायतका माग गरे ।

‘मर्जर’ संवेदनशील विषय भएकाले ‘फोर्स मर्जर’ उपयुक्त नहुने उनको भनाइ थियो ।

यस्तै, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जरलाई प्रोत्साहनमुखी बनाइनुपर्नेमा जोड दिए ।

वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फोर्स मर्जर गर्दा कर्मचारीहरुको व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विभिन्न क्षेत्रमा व्यावहारिकरुपमा जारी ‘कार्टेलिङ’को अन्त्य गरिनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले वित्तीय क्षेत्रमा नयाँपन ल्याउनुपर्ने बताए ।

विकसित मुलुकहरुमासमेत बैंक मर्जरको अभ्यास रहेको र मुलुकमा पनि अहिले आवश्यक देखिएकाले नै मर्जरलाई प्राथमिकता दिइन लागेको उनले उल्लेख गरे ।