१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


पूर्वी नेपालमा पेट्रोलियम पदार्थको अभाव


0
Shares

विराटनगर, असार २२ । पेट्रोलियम पदार्थको ढुवानीमा समस्या आएपछि दुई दिनदेखि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

नेपाल आयल निगमको प्रदेश कार्यालयले इन्धन वितरण नगर्दा पूर्वी बजारमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो । जसका कारण मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरलगायत पूर्वी तराईका पेट्रोल पम्पहरु बन्द छन् ।

शुक्रबारदेखि पेट्रोल ट्यांकर चालकहरुले सिमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्न बहानमा दुःख दिने गरेको भन्दै तत्काल आईसिपीको बाटो प्रयोग गर्न माग राख्दै ढुवानी रोकेका हुन् । ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी रोकेपछि बजारमा इन्धनको अभाव देखिएसँगै उपभोक्ता भने मारमा परेका छन् ।

नेपाल आयल निगम प्रदेश कार्यालयले भने सीमावर्ती भारतीय बाटोमै रोकिएका पेट्रोल ट्यांकर एक हप्तादेखि सहज रूपमा आउन नपाएका कारण इन्धन सहज हुन नसकेको जनाएको छ ।

निगमका अनुसार स्थानीय प्रशासनको सहयोगमा सीमावर्ती फारबिसगञ्जको प्रशासनसँग अनुरोध गरेर बिहान ६ देखि ८ र राति १० देखि १२ बजेसम्म ट्यांकरमात्र आउने व्यवस्था मिलाईएको छ । चालकले आइसिपी हुँदै तेल ओसार्न पाउनु पर्ने माग गरे पनि यसमा भने कुनै सहमति हुन नसकेको आयल निगम कार्यालयले जनाएको छ ।

निगमका अनुसार कोशी र सगरमाथाका १२ जिल्लामा डिजलका ५० र पेट्रोलका २० ट्यांकरले ओसारेको तेल दैनिक खपत हुने छ ।