Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


उपप्रमुख खड्गीको स्वास्थ्य ‘सामान्य’


0
Shares

काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उपमहाप्रबन्धक आरपी मैनालीले जानकारी दिए ।

उनले भने–‘छातीमा समस्या देखिएपछि उहाँ (उपप्रमुख खड्गी) अस्पताल भर्ना हुनुभएको थियो । अहिले खतरामुक्त अवस्थामा सीसीयुमा हुनुहुन्छ । शनिबार वा आइतबार घर फर्कंदै हुनुहुन्छ ।’

खड्गीलाई हृदयाघातको आशंका गरिएपनि उनको एनजीओग्राफी गर्दा त्यस्तो लक्ष्यण नभेटिएको अस्पतालले जनाएको छ ।

राष्ट्रियसभागृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीबारे भएको बैठकमा सहभागी भएकी उपप्रमुख खड्गीले शारीरिकरुपमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको महानगरपालिकाले जनाएको छ ।

अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणकाक्रममा २४ घन्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

लगत्तै महानागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर उपप्रमुख खड्गीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका थिए । रासस