Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बजेटप्रति सत्तापक्षीय सांसदहरुकै असन्तुष्टि, मुख्यमन्त्रीलाई हस्ताक्षर बुझाउने


0
Shares

कैलाली । प्रतिपक्षी दलका मागप्रति सुदूरपश्चिम प्रदेश सरकार लचक बन्दै गइरहेका बेला बजेटका विषयलाई लिएर सत्तापक्षकै सांसदहरुको असन्तुष्टि बढेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विरुद्धमा सत्तापक्षका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका छन् ।

सत्तापक्षीय प्रदेशसभा सदस्यहरुको आइतबारको छलफलले बजेटविरुद्धमा हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो । सोमबारबाट हस्ताक्षर संकलन सुरु गरिएको छ । 

सत्तापक्षका अधिकांश प्रदेशसभा सदस्यले बजेटविरुद्धको अभियानमा हस्ताक्षर संकलन गरेको एक सदस्यले बताए । सरकारले प्रतिपक्षीको माग पूरा गर्ने तरखर गरेपछि सत्तापक्षमै यस्तो अभियान थालिएको हो ।

सत्तापक्षका असन्तुष्ट प्रदेशसभा सदस्यले संकलित हस्ताक्षर आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने तयारी गरेको जनाइएको छ ।

तर नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भने बजेटविरुद्ध सत्तापक्षमा हस्ताक्षर अभियान सुरु गरिएको भन्नेबारे अनविज्ञता प्रकट गरे ।

केही दिन अगाडि सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकमा प्रतिपक्षीलाई पेलेर भए पनि बजेट पास गर्ने ‘ह्वीप’ जारी भएको थियो ।

नेकपा नेता लेखराज भट्टले प्रतिपक्षीलाई पेलेर भए पनि बजेट पास गर्नुपर्ने निर्देशन दिएको स्रोतको भनाइ छ ।

तर, नेता भट्टको उक्त निर्देशनमासमेत सत्तापक्षका कतिपय प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएको बताइएको छ ।

प्रदेश सरकारले अपारदर्शी र वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्र्रेस र राष्ट्रिय जनता पार्टीले सुरुदेखि नै विरोध गर्दै आएका छन् ।

यही विषयलाई लिएर प्रदेश सरकार र प्रतिपक्षीबीच पटक–पटक वार्ता भइसकेको छ ।