२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


ट्रम्पले पूर्व योजनाबिनै गरेको उत्तर कोरियाको आकस्मिक भ्रमण ‘अभूतपूर्व घटना’


0
Shares

काठमाडौं । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व योजनाबिनै गरेको उत्तर कोरियाको आकस्मिक भ्रमणलाई ‘अभूतपूर्व घटना’ भएको उल्लेख गरेका छन् ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले ट्रम्पको पहलमा भएको भेट ऐतिहासिक रहेको उल्लेख गरेको छ ।

केसीएनएले ६६ वर्षअघि दुई कोरियाबीचको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौतापछिको यो अर्को ऐतिहासिक घटना भएको जनाएको छ ।

विभाजनको प्रतिकका रुपमा लिइने पानमुजोममा त्रिदेशीय भेट हुनु अभूतपूर्व घटना रहेको केसिएनएको भनाइ छ ।

ट्रम्प र किमबीच भविष्यमा सम्पर्कमा रहिरहने सहमति भएको उल्लेख छ ।

यस्तै वार्तालाई पुनः स्थापित गर्दै सामूहिक हितका लागि काम गर्ने पक्षमा दुवै नेता रहेको जनाइएको छ ।

जापानमा भएको जी–ट्वेन्टी सम्मेलनमा सहभागी भएर दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले हिजो उत्तर कोरिया प्रवेश गर्दै नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए ।

किमसँगको भेटका लागि राष्ट्रपति ट्रम्प दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड जोन पुगेका थिए ।

सीमा क्षेत्र नाघेर उत्तर कोरियामा प्रवेश गरी ट्रम्पले किम जोङ–उनसँग हात मिलाउँदै उनीहरु डिएमजेडमा रहेको पानमुजोममा फर्केर केहीबेर छलफल गरेका थिए ।

उत्तर कोरियामा प्रवेश गर्ने ट्रम्प अमेरिकाको पहिलो बहालवाला राष्ट्रपति हुन् । (एजेन्सी)