Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सार्वजनिक तालबाट गाउँपालिकालाई करोडौं आम्दानी


0
Shares

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले तालको उपयोग गरी करोडौं रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको नाढी तालका माछाको व्यवस्थापन गरेपछि गाउँपालिका आर्थिक रुपमा सबल बन्न थालेको हो ।

स्थानीय तहहरु आर्थिक रुपमा प्रदेश र केन्द्र सरकारसँगै आश्रित रहनुपरेका बेला सर्लाहीको चन्द्रनगर गाउँपालिकाले भने आफै पनि आम्दानी गर्न थालेको छ ।

गाउँपालिकाभित्र रहेको पर्यटकीय स्थल नाढी ताल र अन्य १० वटा पोखरीका माछा ठेक्का लगाएर वार्षिक रुपमा  पौने दुई करोड रुपैैयाँ बराबरको आम्दानी भइरहेको गाउँपालिकाका प्रमुख महेन्द्र महतो बताउँछन् ।

आर्थिक रुपमा सबल बन्न गाउँपालिकाले सबै व्यापार व्यवसायलाई करको दायरामा ल्याउन थालेको अध्यक्ष महतोको भनाइ छ ।

गाउँपालिकाले माछा ठेक्का लगाउनुका साथसाथै  मोटरबोट सञ्चालनबाट पनि आम्दानी  गरिरहेको छ ।

नाढीताल गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत भएकाले प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरिरहेको  छ ।

नेपाल सरकारले घोषणा गरेका उत्कृष्ट सय पर्यटकीय क्षेत्रमध्ये नाढी ताल पनि एक हो ।

यसलाई अझ विस्तार गर्न ऐलानी पर्ती जग्गा खोजेर नयाँ पोखरी खन्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद भट्टराईको भनाइ छ ।

यसको विकास र संरक्षणका लागि सबै निकायसँग समन्वय गरेर काम गरिरहेको र तालको विकासका लागि गुरुयोजना पनि निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

गुरुयोजनामा २८ करोड १७ लाख रुपैयाँको लागतमा आगामी वर्षदेखि नाढी तालमा भ्यू टावर, चिड्रेन पार्क, कम्पाउन्डिङ, सपिङ कम्प्लेक्स, छठ घाट लगायतका संरचना निर्माण गरिने उल्लेख छ ।