Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


दोहोरी गीत गाउँदै मेयरले तीन घण्टासम्म रोपे धान


0
Shares

बुटवल, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ ।

वडा नं. १५ को सखुवानी डाँडास्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो । वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा स्थानीय अब्बल किसानलाई प्रोत्साहनसमेत गरिएको छ ।

रोपाइँमा नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष खेमराज गुरुङ, कार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारी, विभिन्न कृषक समूह, आमा समूह, टोल विकास संस्थालगायत किसानहरुको सहभागिता थियो । सहभागीहरुले पञ्चेबाजाको तालमा झण्डै दुई बिगाहा खेत रोपेका छन् ।

किसानसँगै पुरै समय मेयर, उपमेयरले धान रोपेका थिए ।

रोपाइँको शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले श्रमको सम्मानका साथै कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको बताए ।

व्यावसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने नीति लिएको बताउँदै उनले किसानले भोग्दै आएका समस्या समाधान गर्न नगरपालिका प्रत्यनशील रहेको प्रष्ट पारे ।

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण : चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । तिलोत्तमा नगरपालिकामा झण्डै ८० प्रतिशत भू—भागमा धान खेती हुँदै आएको छ ।