काठमाडौं, असार १२ । नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई दबाब दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बुधबार र बिहीबार दुई दिनसम्म चलेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजान र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्ने कार्यक्रम ल्याएर जनतामा जान दबाब दिएका हुन् ।
उनीहरुले पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुंग्याउनुपर्नेमा जोड दिएका बताइएको छ ।
कांग्रेसले गएको वैशाख २५ देखि जेठ २५ गतेसम्म देशभर सन्चालन गरेको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।
अभियानकाक्रममा कांग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ, नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो ।
अन्तरक्रियामा उठेका विचारलाई पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने कांग्रेसले जनाएको छ ।
कांग्रेसले दोस्रो चरणको जागरण अभियान आउँदो भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ गतेसम्म सन्चालन गर्ने जनाएको छ ।
केन्द्रीय समिति बैठक डाकियो
यसैबीच, नेपाली कांग्रेसले नेविसंघलगायतका भातृसंगठनको संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय गर्न यही असार २२ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।









प्रतिक्रिया दिनुहोस्