Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारको कामको समीक्षा गर्नुपर्छ : रावल


0
Shares

अत्तरिया, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम–कारबाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सरकारका मन्त्रालयको काम–कारबाहीको समीक्षा गर्नुपर्ने धारणा राखे ।

उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगतरूपमा सरकारका समग्र कामको मूल्यांकन र समीक्षा गरिएमा सरकारका मन्त्रिमन्डल फेरबदल गर्ने/नगर्नेबारेमा भन्नसकिने बताए ।

सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उनले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।

उनले सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै ९ ओटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृसंगठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए । रासस