
काठमाडौं, असार ११ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले एक वर्षमा ‘रेकर्ड’ नै कायम हुनेगरी काम गरेको दाबी गरेका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सडक, रेल, पुल–पुलेसालगायतका पूर्वाधार विकासमा रेकर्ड कायम हुनेगरी काम भएको दाबी गरेका हुन् ।
नयाँ सडक बनाउनेदेखि ‘ट्रयाक’ खोल्नेसम्मका धेरै काम भएको उनको दाबी छ ।
सरकारको पहिलो वर्षको दुईतिहाइ समय ऐन–नियम बनाउनमा नै खर्चनुपरेको र अब भने जनतामा प्रत्यक्ष प्रभाव पार्नेगरी द्रुतगतिमा काम अघि बढ्ने दाबी पनि उनको रह्यो ।
सरकारले एक वर्षमा एक हजार किलोमिटर सडक पिच गरेको, एक हजार पन्ध्र सय किलोमिटर सडक ग्राभेल भएको र यति नै नयाँ ट्रयाक खोलेको उनले उल्लेख गरे ।
सरकारले भौतिक पूर्वाधार तथा यातायात, सन्चार, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा फड्को मारेको उनको दाबी छ ।
सरकार बनेको एक वर्षभित्रमा नै ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भएको र आगामी आर्थिक वर्ष ९ प्रतिशतको वृद्धिदर पुर्याएरै छाड्ने गरी काम भइरहेको उनको दाबी छ ।
निर्माण व्यवसायीहरुले अघि सारेका जायज सुझावहरुलाई सरकारले मनन् गर्ने पनि मन्त्री महासेठले उल्लेख गरे ।
सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेको र यसमा व्यवसायीहरुको जायज सुझाव समेटिने प्रतिबद्धता उनले जनाए ।
०५२ सालदेखिका आयोजनाहरु अझैपनि सम्पन्न हुन नसकेको इतिहासबाट पाठ सिकेर सार्वजनिक खरिद नियमावलीलाई परिमार्जन गर्न लागिएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्