काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम सुचालु भएको छ ।
गत साता आयोजनाको ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सनलाई फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न सहमति जनाएपछि आयोजनाको काम सुचालु भएको हो ।
हिजो सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।
आयोजनाको काम छाडेर भागेको इटालीको सिएमसी कम्पनीले स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरलाई उनीहरुको बांकी रकम भुक्तानी नगरेपछि उनीहरुले नयां ठेकेदारलाई पनि आयोजनाको काममा अवरोध गर्दै आएका थिए ।
बैठकमा आगामी असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भुक्तानीबारे प्रतिवेदन बुझाउने र आयोजनास्थलमा स्थानीयवासीले अवरोध नगर्ने सहमति जुटेको हो ।
सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलले भुक्तानी रकमबारे प्रतिवेदन तयार पार्नेछ । अघिल्लो हप्ता मात्र आयोजनाको काम गर्न गएको श्रेष्ठ कन्स्ट्रक्सनलाई उनीहरुले काम गर्न नदिई फिर्ता पठाएका थिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले स्थानीयवासीले उठाएका जायज मागको सम्बोधन गर्ने बताए ।
असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि काममा अवरोध गर्ने स्थानीयले चेतावनी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्