Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्’


0
Shares

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टी(नेमकिपा)लाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन् ।

भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण एवं पाठेघरको परीक्षण शिविरको आज उद्घाटन गर्दै उनले भने, “नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।”

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे पनि दिगो रहने टिप्पणी गर्दै उनले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफैं समाप्त हुने भनाइ राखे ।

उनले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आधुनिकता तथा नवीनतम उपलब्धि हासिल गर्न लागिरहेको उल्लेख गर्दै नेता नेपालले स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरणजस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह तथा जनचेतना फैलाउन पनि प्रविधिको प्रयोग प्रभावकारी हुने बताए ।

धुँवा, धुलो, पानी, खानेकुरा, तेल, तरकारी जुनसुकै क्षेत्रमा पनि स्वाथ्यलाई हानि पुर्‍याउने तत्व रहेको बताउँदै उनले अहिले प्रत्येक मानिस पाइलैपिच्छे रोग रहेकाले रोगबाट बच्न सजग रहनुपर्नेमा जोड दिए ।

स्वास्थ्यको क्षेत्रमा योगदान पुर्‍याएबापत नेता नेपालले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कदरपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठले शरीर स्वस्थ्य रहे मात्रै जीवनको सार्थकता रहने भएकाले सरकारले स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदनकुमार पिया लगायतले रोग लागेर ढिलो भएपछि आत्तिने प्रवृत्ति मानिसमा रहेकाले रोग लाग्नै नदिनेतर्फ लाग्न सुझाव दिए ।

एक सातासम्म सञ्चालन हुने पाठेघर क्यान्सरलगायत पाठेघरको समस्याका बारेमा विशेषज्ञ डाक्टरसहितको टोलीले निःशुल्क पाठेघर परीक्षण, परामर्श, ल्याब टेष्ट र औषधि वितरण गरिने संस्थाका अध्यक्ष रञ्जु नापितले जानकारी दिए । रासस