काठमाडौं, असार ६ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक पारित गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।
संघीय संसद्को विकास तथा प्रविधि समितिको आजको बैठकमा उनले विधेयक तत्काल पारित गर्न सदस्यहरुसँग आग्रह गरे । उनले सरोकार नै नभएको विधेयकसँग समितिका सदस्यहरुले पत्रकारहरुलाई जोड्ने गरेको भन्दै आपत्ति जनाए ।
सञ्चार मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक मुलधारका मिडियासँग सम्बन्धित नरहेको भन्दै विधेयकले समाजलाई अनुशासित बनाउने दाबी गरे ।
दुई महिना लगाएर छलफल गर्दा पनि विधेयकलाई टुंगोमा पुर्याउन नसकेको भन्दै मन्त्री बाँस्कोटाले समितिप्रति असन्तुष्टि जनाए । उनले सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको जिकिर गरे ।
समितिमा नेपाली कांग्रेसका सांसदहरुले प्रस्तावित विधेयकले व्यक्तिगत स्वतन्त्रतामा दखल दिने भन्दै यसका कतिपय प्रावधान अमूर्त रहेको टिप्पणी गरेका थिए । उनीहरुले विधेयक फिर्ता लिन माग गरे ।
तर, सत्तारुढ दलका सांसदहरुले भने विधेयकमा समर्थन जनाउँदै यसको बचाउ गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्